काठमाडौं । गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले पदबहाली गरेका छन् । असार १८ गतेको मन्त्रीपरिषद बैठकबाट संस्थान महाप्रबन्धकमा नियुक्त भएका रावलले संस्थान कार्यालयमा सोमबार पदबहाली गरेका हुन् ।
पदबहाली गर्दै महाप्रबन्धक रावलले गोरखापत्र नेपाली पत्रकारिताको गौरव र इतिहास भएकाले यसको विश्वसनीयतालाई थप गर्विलो पार्ने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

गोरखापत्र परम्परागत रुपमा चलेको चर्चा गर्दै रावलले नयाँ सोच र शैलीसाथ यसको रुपान्तरणको खाँचो रहेको बताए । सरकारको स्पिरिट पनि देशको रुपान्तरण गर्ने भएकाले सोही स्पिरिट साथ काम गर्ने महाप्रबन्धक रावलको भनाइ छ ।
गोरखापत्र संस्थानमा काम गर्ने पत्रकार तथा कर्मचारीको सोच शैली र प्रकाशन कन्टेन्ट्समा सुधार नगरेसम्म अन्य सुधार हुन नसक्ने बताउँदै महाप्रबन्धक रावलले संस्थानलाई राम्रो कसरी बनाउने विषयमा आफूलाई सुझाव दिन कर्मचारीहरुलाई आग्रह समेत गरेका छन् ।

महाप्रबन्धक रावललाई संस्थानका निमित्त प्रमुख उमेशकुमार ओझा, सञ्चालक समिति सदस्य लक्की चौधरी, गोरखापत्रका प्रधान सम्पादक जुनार बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक रमेश लम्साल, प्रशासन निर्देशक ताराबहादुर बस्याल, उत्पादन निर्देशक ओमप्रकाश भुषाल लगायतले संस्थानमा स्वागत गरेका थिए ।
गन्यापधुरा गाउँपालिका–२, डडेल्धुरामा २०३६ भदौ १० गते जन्मिएका रावल पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर छन् । करिब २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रावल पछिल्लो समय बिबिसी नेपाली सेवा सुदूरपश्चिममा कार्यरत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय