आज देशभर माघे सङ्क्रान्ति पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने विश्वास रहिआएको छ, जसअनुसार दिन लामा र रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना र दानलाई पुण्यदायी मानिने भएकाले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्छ । ती स्थानमा आज विशेष मेलासमेत आयोजना गरिन्छ । तराईवासीले माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने चलन छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी लगायतका परिकार खाने परम्परा छ । जाडो मौसममा शरीरलाई न्यानो राख्न यस्ता तातो र पोषिलो खानेकुरा खाने गरिएको हो । यस दिन तिलको तेलले शरीरमा मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि रहिआएको छ । माघे सङ्क्रान्तिकै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस समेत मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने परम्परालाई मध्यनजर गर्दै यो दिवस मनाउन थालिएको हो ।






