काठमाडौं । माडी नगरपालिकाले पालिकाभित्र रहेको जमीनको वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले जमीनलाई ७ भागमा वर्गीकरण गरेको छ ।
भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमीनको वर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले सबैभन्दा धेरै वन क्षेत्र रहेको जानकारी दिनुभयो । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकोमा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङ्गलले ओगटेको छ ।



यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषियोग्य रहेको छ । उहाँले सार्वजनिक जमीन ३१५ दशमलब ५२ हेक्टर, आवासीय जमीन एक हजार ९१८ दशमलब ८७ हेक्टर, व्यावसायिक जमीन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र संस्कृतिक जमीन ९ दशमलब ३१ हेक्टर रहेको छ ।
जमीन वर्गीकरणको काम सकिएकाले सबै विवरण वडा कार्यालयमा पठाइएको उहाँले जानकारी दिनुभयो । पालिकाले गरेको जग्गाको वर्गीकरणबारे चित्त नबुझे भू–उपयोग कार्यान्वयन निर्देशिका २०८१ को खफा २८ को उपदफा २ बमोजिम निवेदन पेस गर्न सूचना जारी गरिएको छ । जग्गा धनीले भू–उपयोग वर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा त्यस्ता निवेदनमाथि अध्ययन गरी पुनःविचार गरिने भुषालले बताउनुभयो ।



