काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा (लोंहोकोट) मा रहेको ऐतिहासिक तथा प्राकृतिक सम्पदाका रूपमा परिचित श्री विष्णु भैरव मन्दिरको संरक्षण, संवद्र्धन र विकासका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

मन्दिर परिसरको चौतर्फी विकास तथा गणेश मन्दिर निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महायज्ञ तपस्वी गुरु पण्डित श्री उत्तम भट्ट महाराजको मुखारविन्दुबाट सञ्चालन हुनेछ । आयोजकले महायज्ञ केवल धार्मिक अनुष्ठानमा सीमित नरही राष्ट्रमा शान्ति, मानव कल्याण, सनातन संस्कृतिको संरक्षण तथा प्राकृतिक विपत्ति, दुर्घटना वा अल्पआयुमै दिवंगत भएका सम्पूर्ण आत्माहरूको चिरशान्ति र पितृ उद्धारको कामनासहित सञ्चालन गरिने जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–८ का वडा सदस्य विजय श्रेष्ठले महायज्ञ आयोजना हुने स्थान स्थानीय समुदायको आस्था र विश्वासको केन्द्र रहेको उल्लेख गर्दै यसअघि त्यही स्थानमा गरिएका सबै धार्मिक तथा विकासका कार्य सफल भएको स्मरण गर्नुभयो । उहाँले यस पटकको महायज्ञ पनि सबैको साथ, सहयोग र सहभागिताले भव्य र सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

वडा सदस्य श्रेष्ठले महायज्ञ सफल बनाउन महिलाहरूको भूमिका विशेष महत्वपूर्ण हुने बताउँदै घरायसी जिम्मेवारीसँगै केही समय धर्म र समाजका लागि छुट्याउन आग्रह गर्नुभयो । उहाँले धर्म केवल आस्थाको विषय मात्र नभई, समाजलाई नैतिकता, सद्भाव, सेवा र मानवताको मार्गमा डोर्याउने जीवनदर्शन भएको वडा ८ का बासिन्दामात्र नभई छिमेकी वडा तथा अन्य पालिकाका श्रद्धालु भक्तजनलाई समेत महायज्ञमा सहभागी भई प्रसाद ग्रहण गर्न निमन्त्रणा दिनुभयो ।

यस्तै समाजसेवी तथा व्यवसायी धर्मानन्द श्रेष्ठले धर्मले मानिसको विचार, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले महायज्ञ केवल पूजा–आराधनाको कार्यक्रम नभई समाजमा शान्ति, एकता, नैतिकता र आपसी सद्भाव अभिवृद्धि गर्ने सशक्त माध्यम भएकोले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर स्थानीय क्षेत्रको विकासका लागि सामूहिक रूपमा आयोजना गरिएको यस धार्मिक अभियानमा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनु भयो ।

महायज्ञका प्रमुख कथा वाचक तपस्वी गुरु पण्डित श्री उत्तम भट्ट महाराजले असार १६ गतेदेखि २४ गतेसम्म संचालन हुने महायज्ञको कार्यक्रम सार्वजनिक गर्दै पहिलो दिन मातातीर्थ कुण्डबाट कलश यात्रामार्फत पवित्र जल ल्याई वैदिक विधिअनुसार महायज्ञको शुभारम्भ गरिने जानकारी दिनुभयो । सात दिनसम्म श्रीमद्भागवत कथा वाचन, पूजा–पाठ, पारायण, नित्य हवन, भजन–कीर्तन, धार्मिक प्रवचन तथा दाताहरूको सम्मानलगायतका कार्यक्रम संचालन हुने जानकारी गराउनु भयो ।

ऐतिहासिक महत्व बोकेको श्री विष्णु भैरव मन्दिरको संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस महायज्ञलाई सफल बनाउन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई धर्मलाभ गर्न, प्रसाद ग्रहण गर्न तथा मन्दिर विकास अभियानमा आफ्नो अमूल्य योगदान पुर्याउन हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय