काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा मंगलबार दिउँसोदेखि हिमपात सुरु भएको छ।
बुधबार बिहान मन्दिर क्षेत्र सेताम्मे भएको छ भने आसपासका ट्रेल र पहाडी बाटोहरू हिमले ढाकिएका छन्। स्थानीय बासिन्दा र पर्यटकहरूले चिसो बढेसँगै कठिन अवस्था भोग्नुपरेको जनाएका छन्। हिमपातका कारण मन्दिरको दर्शनका लागि आएका भक्तजन र पर्यटकहरूले सावधानी अपनाउनुपर्ने भएको छ। स्थानीय प्रशासनका अनुसार उच्च हिमाली क्षेत्रमा हिँडडुल गर्दा ज्यान जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।



साथै, हिमपातका कारण सडक खण्डमा अवरोध हुने सम्भावना रहेको र आवश्यक सहयोगका लागि सुरक्षाकर्मी र स्थानीय निकायले तयारी गरिरहेको जनाएको छ। मौसमविद्हरूका अनुसार आगामी दुई–तीन दिनसम्म मुस्ताङ र वरिपरिका उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। हिमपातले कृषि, पशुपालन र दैनिक जीवनमा असुविधा पुर्याउन सक्ने भएकाले स्थानीयहरूले सतर्क रहन आग्रह गरिएको छ।
मुक्तिनाथ मन्दिर क्षेत्र पर्यटकहरूका लागि प्रसिद्ध धार्मिक र पर्यटक स्थल भएकाले हिमपातपछि सेतो हिमले ढाकिएको दृश्यले प्राकृतिक सौन्दर्यमा थप आकर्षण थपेको देखिन्छ।



