मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको झण्डै दुईहप्ता पुगेको छ । राजमार्गको करिब एक किलोमिटर सडक खोज्नुपर्ने अवस्थामा पुगेको छ । सडक बन्द भएपछि यात्रु मात्रै होइन, इलामको दुग्ध व्यवसाय, कृषि उत्पादन र समग्र जनजीवन नै प्रभावित बनेको छ । दूध बिक्री हुन नसक्दा किसान आर्थिक संकटमा परेका छन् भने हजारौँ यात्रु जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन् । वैकल्पिक सडकको अवस्था पनि दयनीय हुँदा स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।
मेची राजमार्गको भञ्ज्याङ–राजदुवाली सडक खण्ड अहिले सडकभन्दा बढी खोल्साजस्तै देखिन्छ । करिब एक किलोमिटर सडक पहिरोले पूर्ण रूपमा बगाएपछि यहाँबाट सवारी सञ्चालन असम्भव बनेको छ । यही सडक अवरुद्ध हुँदा इलामका दुग्ध किसान सबैभन्दा ठूलो मारमा परेका छन् । असार २३ गतेदेखि विल्याँटेस्थित दुग्ध विकास संस्थानको चिस्यान केन्द्रबाट विराटनगर दूध पठाउन नसक्दा हजारौँ लिटर दूध थन्किएको छ । दैनिक करिब एक हजार लिटर दूध संकलन हुने चिस्यान केन्द्रमा अहिले करिब तीन हजार ६ सय लिटर दूध भण्डारण गरिएको छ । ट्याङ्कर आउन नसक्दा दूध व्यवस्थापन गर्न कठिन भएको छ भने लामो समयसम्म यस्तो अवस्था रहे दूध खेर जाने जोखिम बढेको छ ।
धारापानी, जसबिरे, तालगाउँसहित १४ वटा सहकारीमार्फत किसानले दूध संकलन गर्दै आएका छन् । डिडिसीलाई दूध बिक्री गर्दै आएका किसान अहिले उत्पादन गरेपनि बजारसम्म पु¥याउन नसक्ने अवस्थामा पुगेका छन् । दूध बिक्री रोकिएसँगै किसानको नियमित आम्दानी ठप्प भएको छ । डिडिसीले दूध संकलन गरे पनि विराटनगर पठाउन नसक्दा भुक्तानी ढिला हुने चिन्ता किसानमा थपिएको छ । यता पशुचौपायाका लागि आवश्यक दाना–चोकरसमेत सडक अवरोधकै कारण महँगिएको छ । यसले उत्पादन लागत झन् बढाएको किसानको गुनासो छ ।
इलाम उद्योग वाणिज्य संघले तत्कालका लागि साना सवारीमार्फत थन्किएको दूध विराटनगर पठाउने पहल थालेको छ । तर राजमार्ग पूर्ण सञ्चालन नभएसम्म यो स्थायी समाधान हुन नसक्ने व्यवसायीहरू बताउँछन् । उद्योग, व्यापार, कृषि र दैनिक उपभोग्य वस्तुको आपूर्ति सबै यही सडकमा निर्भर रहेकाले यसको अवरोधले जिल्लाको अर्थतन्त्र नै प्रभावित हुन थालेको छ । यात्रुको समस्या पनि उत्तिकै गम्भीर छ । इलामबाट झापा जान चाहने यात्रुले गाडी परिवर्तन मात्रै होइन, भारी झोला बोकेर जोखिमपूर्ण बाटो पैदल पार गर्नुपरेको छ । बिरामी बोकेर हिँड्नुपर्ने अवस्था छ भने एम्बुलेन्स सञ्चालन समेत प्रभावित बनेको छ । वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको तिल्केनी–सिमलगोलाइ र इलाम–बेलासे सडक खण्ड आफैं जोखिमपूर्ण छ । यी बैकल्पिक मार्गमा पर्ने खोलाहरुमा पक्की पुल नहुँदा डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ ।
वर्षा हुनेबित्तिकै डाइभर्सन बग्ने, कच्ची सडक हिलाम्मे हुने र घण्टौँसम्म सवारी रोकिने समस्या भइरहेको छ । त्यसैले राजदुवाली खण्डको स्थायी पुनर्निर्माणसँगै वैकल्पिक मार्गमा पक्की पुल र स्तरोन्नति नभएसम्म इलामलाई थप संकट पर्ने निश्चित छ । मेची राजमार्ग अबरुद्ध हँदा इलाम सहित, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका नागरिक अहिले सबैभन्दा बढी प्रभावित बनेका छन् । अहिले इलामबाट झापातर्फ जाने यात्रु माइखोला माथिसम्म गाडीमा यात्रा गर्ने, त्यसपछि करिब एक किलोमिटर पैदल हिँड्ने र फेरि राजदुवालीबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ । दैनिक उपभोग्य वस्तुदेखि किसानको उत्पादन, बिरामीको उपचारदेखि जिल्लाको समग्र अर्थतन्त्रसम्म एउटै सडकमा निर्भर हुँदा राजदुवालीको अवरोधले इलामलाई ठप्पजस्तै बनाएको छ । स्थानीय अब अस्थायी टालटुल होइन, वर्षौँसम्म टिक्ने स्थायी समाधान चाहन्छन् । अन्यथा प्रत्येक मनसुनसँगै यही पीडा दोहोरिने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय