काठमाडौं — मुस्लिम समुदायले आज इद उल फित्र पर्व श्रद्धा, उल्लास र सामाजिक सद्भावका साथ मनाइरहेका छन्। अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिना रमजानभर निराहार ब्रत (रोजा) पूरा गरेपछि मुस्लिम धर्मावलम्बीहरूले विशेष नमाज अदा गरी यो पर्व मनाउने परम्परा रहेको छ।

इद उल फित्रको अवसरमा आज बिहानैदेखि देशभरका मस्जिदहरूमा मुस्लिम समुदायको उल्लेख्य उपस्थिति देखिएको छ। काठमाडौंको घण्टाघरस्थित काश्मिरी मस्जिदमा पनि ठूलो संख्यामा धर्मावलम्बीहरू भेला भएर सामूहिक नमाज अदा गरेका छन्।

यस पर्वका अवसरमा आजदेखि तीन दिनसम्म मान्यजनकोमा गई आशीर्वाद लिने तथा सानालाई माया र आशीर्वाद दिने चलन रहेको छ। परिवार, आफन्त र साथीभाइबीच भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने परम्पराले सामाजिक सद्भाव र एकताको सन्देश दिने गर्दछ।

इद उल फित्रको विशेषता भनेको दीनदुःखी तथा गरिबलाई सहयोग गर्नु पनि हो। आवश्यक परेकालाई दान दिने परम्पराका कारण यो पर्वलाई उदारता र सहानुभूतिको प्रतीकका रूपमा समेत लिइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय