प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरु भएपछि काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा सवारी साधनमा आगजनी भएको छ। मंगलबार बिहान करिब ३ बजेतिर सुकेधारा र नैकाप क्षेत्रमा गाडीमा आगो लगाइएको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सुकेधारामा बा ७ च १४०१ नम्बरको र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो। घटनास्थलमा भेटिएको सामग्रीअनुसार आगो लगाइएका गाडीभित्र दुर्गा प्रसाईं सम्बन्धी पर्चा फेला परेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ। हालसम्म सवारीधनीबाट औपचारिक उजुरी भने नआएको प्रहरीको भनाइ छ। यसैबीच, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई यसअघि भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।






