काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्याधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेर नष्ट भएका छन् ।

हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख कालिदास बस्यालले आन्दोलनका क्रममा भएको आगजनीले सेवा कक्ष, अभिलेख कक्ष, कम्प्युटर, प्रिन्टर, सर्भर प्रणाली तथा फर्निचरमा पूर्णरुपमा क्षति पुगेको बताउनु भयो ।

उहाँले कठिनाईका बाबजुद पनि सवारीसाधन नवीकरण, सवारी दर्ता, सवारी कर सङ्कलन तथा चालक अनुमतिपत्र नवीकरणजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालन भइरहेका छन् । बस्यालले कागजात नष्ट भएपछि अभिलेख पुनःनिर्माण कार्यालयका लागि अर्को ठुलो चुनौती बने तापनि सेवा प्रणाली डिजिटल रहेकाले केन्द्रीय सर्भरमा सुरक्षित भएकोले राहत भएको उल्लेख गर्नुभयो ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यालयले सम्पूर्ण अभिलेख डिजिटलाइजेसन, नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण प्रणाली, सिसिटिभी जडान तथा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने योजना अघि सारेको बताउनुभयो । यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको प्रमुख बस्यालको भनाइ थियो ।

यसबीच कर्मचारीले सेवाग्राहीलाई आवश्यक जानकारी उपलब्ध गराउने, आवश्यक दस्तावेजको प्रतिलिपि जाँच गर्ने र प्रक्रियालाई स्पष्ट रूपमा बुझाउने काममा निरन्तर ध्यान दिँदैआएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय