गत असोजको अविरल वर्षाका कारण रोशीमा आएको बाढीले ठुलो जनधनको क्षति भयो। अरबौंको सार्वजनिक, निजि तथा भौतिक सम्पति र संरचना बाढीले बगाएर लाग्यो। सयौं घरबार बिहिन भए, बगेका कति सार्वजनिक सम्पति भेटिए कति जमिनमै बिलय भए।



रोशी खोलाले रोशी गाउँपालिका वडा न ७ रघुचौरको झुलुङ्गे पुलको जगदेखि उखेलेर भत्काईदियो। रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका नागरिक आवतजावत गर्ने पक्की पुल र कटुन्जे पुछारमा रहेको झोलुङ्गे पुल जगदेखि नै बगायो । त्यहि बगाएको पुल रोशी–७ का वडा अध्यक्ष अशोक कुमार गौतमले कवाडीलाइ बेचेको आरोपमा सोमबार पक्राउ परेका छन् । सरकारी सम्पतिको सम्बन्धित पक्षसंग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्रि वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले बिक्रि गरेको स्थानीयले बताएका छन्। खोलामा रहेको पुल काटेर कवाडीले ट्रकमा लोड गर्न थालेपछि स्थानीय र कवाडीवालाबीच केहि विवाद भएको थियो। वडा अध्यक्षको निर्देशनमा सामान ढुवानी हुन् थालेपछि स्थानीयले प्रहरीलाइ सूचना दिएका थिए।
सोहि सूचनाका आधारमा कटुञ्जे प्रहरी चौकीका प्रमुख सई मनु सापकोटा नेतृत्वको टोलिले रोशी–७, थानसिङ्गबेशीबाट जेठ १२ गते राति पुल लोड भएका बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो। प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाइ नियन्त्रणमा लिएको थियो । साथै टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ बर्ष ४७का मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ बर्ष ४० का रमेश लामालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएस्पी एवं सूचना अधिकारी मिनबहादुर घलेले वडा अध्यक्ष गौतम पक्राउ परेको पुष्टि गरे । उनले प्रारम्भिक अनुसन्धानमा दोषी देखिएकोले वडा अध्यक्ष गौतमलाई पक्राउ गरिएको बताउँदै थपकुराहरु विस्तृत अनुसन्धान भएपछि मात्र सार्वजनिक गर्ने जानकारी दिए । वडा अध्यक्ष गौतमलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान गर्ने प्रहरीको भनाई छ । वडा अध्यक्ष गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको थियो । गौतमले कवाडी ब्यवसायी मार्फत फलामको विक्री वापतको रकम मोवाईल बैकिङ्ग प्रणाली मार्फत भुत्तानी लिईसकेको ब्यवसायी मन्टु कुमारले प्रहरीलाई बयान दिएका थिए । सोहि बयान र प्रमाणका आधारमा गौतमलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । यस अघि पनि वडा अध्यक्ष गौतमले आफ्नै घर अघि रहेको झोलुङ्गे पुल विक्री गरेका थिए ।
वडा अध्यक्ष गौतमले एकल निर्णयमा राज्यको सम्पति बेचेर आफ्नो निजि बैंक खातामा पैसा जम्मा गराएको भन्दै सोहि वडाका वडा सदस्य मानदोर्जे तामाङले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिएका थिए । वडा सदस्य मानदोर्जे तामाङका अनुसार वडा अध्यक्ष गौतमले कवाडी व्यवसायीबाट बैंकको क्युआर मार्फत पैसा लिएको र सो रकम राज्यकोषमा जम्मा नभएको जानकारी दिए ।
वडा अध्यक्ष गौतमले नमोबुद्द-६ को समेत समन्वयमा समान उठाएको बताएका छन । गौतमको भनाईको आधारमा मिलेमतोको आशंकामा नमोबुद्ध नगरपालिकाका वडा अध्यक्ष टिका बहादुर केसीलाई समेत प्रहरीले निगरानीमा राखेको छ । तर नमोबुद्द नगरपालिका-६ का वडा अध्यक्ष टिकाबहादुर केसीले भने रोशी-७ बाट उठाएका समानहरु ढुवानीको लागि अध्यक्ष गौतमले आवश्यक सहजीकरणको सिफारिस दिन भनेपछी लेखिदिएको बताए । आफ्नो वडाबाट कुनैपनि समान उठाउन नदिएको भन्दै वडा अध्यक्ष केसीले आफुले सार्वजनिक सम्पति बिक्रि नगरेको तथा व्यक्तिगत रुपमा रकम बुझेको प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताएका छन्।



