अजरबैजानमा आगामी अक्टोबरमा हुने पहिलो फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६ का लागि नेपालले सहभागिता दर्ता गरिसकेको छ । २२ देखि ३१ अक्टोबरसम्म हुने प्रतियोगिताका लागि अहिले देशभरबाट राष्ट्रिय टोली निर्माण गर्न खेलाडी छनोट भइरहेको छ । यसै क्रममा इलाममा पनि जिल्ला छनोट सम्पन्न भएको छ । जिल्लाकै ठूलो खेलमैदान ठूलो टुँडिखेलमा भएको छनोटमा अढाई सयभन्दा बढी बालबालिकाले राष्ट्रिय टोलीको जर्सी लगाउने सपना बोकेर प्रतिस्पर्धा गरे । तर, प्रतिभा र उत्साह भएपनि सीमित खेलमैदान, दक्ष प्रशिक्षकको अभाव र नियमित प्रशिक्षणको चुनौती उनीहरूको सपनाको बाधक बनेका छन् ।

राष्ट्रिय फुटबल खेलाडी बन्ने सपना । आँखामा भविष्यको कल्पना । अनि खुट्टामा बल । यही सपना बोकेर इलामको ठूलो टुँडिखेलमा भेला भएका थिए १५ वर्षमुनिका अढाई सयभन्दा बढी बालबालिका । गाउँ–गाउँबाट अभिभावकको साथमा आएका उनीहरूका लागि यो सामान्य खेल होइन । यही मैदानबाट राष्ट्रिय टोलीसम्म पुग्ने यात्राको पहिलो खुड्किलो हो । इलाममा सम्पन्न जिल्ला छनोटबाट छानिएका खेलाडीले अब धरानस्थित एन्फा एकेडेमीको मैदानमा प्रदेशस्तरीय छनोटमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि राष्ट्रिय टोली निर्माणका लागि काठमाडौंमा अन्तिम छनोट हुने बताइएको छ । जिल्ला छनोटको नतिजा भने दुई–तीन दिनभित्र सार्वजनिक गर्ने तयारी छ ।

इलाममा फुटबलप्रतिको आकर्षण नयाँ होइन । तर पछिल्लो समय जिल्ला तहमा ठूला प्रतियोगिता नहुँदा फुटबल गतिविधि खुम्चिँदै गएको छ । त्यसमाथि फिफाबाट अखिल नेपाल फुटबल संघमाथि लगाइएको प्रतिबन्धको असर जिल्ला तहसम्मै परेको छ । आर्थिक रूपमा कमजोर जिल्ला फुटबल संरचना, नियमित प्रतियोगिताको अभाव अनि पर्याप्त पूर्वाधार नहुँदा खेलाडी उत्पादनको अभियान चुनौतीपूर्ण बनेको छ जिल्लामा ठूला प्रतियोगिता हुन सकेका छैनन् । तर फुटबलप्रतिको आकर्षण र गतिविधिलाई निरन्तरता दिने प्रयास भने भइरहेको छ ।
छोराछोरीको सपना पूरा गर्ने यात्रामा परिवार पनि उत्तिकै साथमा छ । गाउँबाटै आफ्ना बालबालिकालाई लिएर अभिभावकहरू छनोट स्थलसम्म आएका छन् । खेलाडीको भविष्यका लागि उनीहरू फुटबललाई पढाइसँगै अघि बढाउन चाहन्छन् । बच्चाको रुचिलाई अभिभावकले पूर्ण साथ दिएका छन् ।

यी बालबालिकाका लागि फुटबलको सपना भने आजको होइन । पाँच–छ वर्षको उमेरदेखि नै बलसँग रमाउँदै आएका उनीहरू अहिले राष्ट्रिय टोलीको जर्सी लगाउने लक्ष्यमा छन् । विश्व फुटबलका महान् खेलाडी मेस्सी, रोनाल्डो उनीहरूका आदर्श हुन् । पढाइसँगै फुटबललाई पनि अघि बढाइरहेका यी खेलाडीको एउटै सपना छ—भोलि नेपाली राष्ट्रिय टोलीको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने । उनीहरुले पढाइसँगै फुटबललाई पनि अगाडि बढाइरहेका छन् ।

तर सपना देख्नु मात्र पर्याप्त छैन । प्रतिभावान खेलाडीको क्षमता विकासका लागि स्तरीय मैदान, दक्ष प्रशिक्षक, नियमित प्रशिक्षण र व्यवस्थित एकेडेमी आवश्यक हुन्छ । इलाममा भने यी आधारभूत संरचनाको अभावले प्रतिभावान खेलाडीसमेत अवसरबाट वञ्चित हुने जोखिम छ । छनोटमा आएका धेरै खेलाडी प्रतिभावान छन् । तर स्तरीय मैदान, प्रशिक्षक र एकेडेमीको अभाव छ । यस्तो अवस्थामा प्रतिभावान खेलाडी ओझेलमा पर्न सक्छन् । उनीहरूलाई निरन्तर प्रशिक्षण र अवसरको आवश्यकता छ ।

फुटबलको आधार बलियो बनाउनुपर्ने आवश्यकता बुझिए पनि इलाममा नियमित रूपमा सञ्चालन हुनुपर्ने ग्रास रुट (जमिन तहको फुटबल) कार्यक्रम समेत पर्याप्त रूपमा हुन सकेको छैन । जिल्ला र प्रदेश फुटबल संरचना भने अब जमिन तहको कार्यक्रम र नियमित प्रशिक्षणलाई प्राथमिकतामा राख्ने तयारीमा छ । इलामको फुटबल अहिले केही नाजुक अवस्थामा छ । खेलाडीहरूको उत्साह भने सकारात्मक छ । यस छनौटबाट धेरै प्रतिभावान खेलाडी उत्पादन हुने अपेक्षा छ । अब चाँडै ग्रास रुट कार्यक्रमसहित फुटबल प्रशिक्षणको व्यवस्था हुने तयारी भइरहेको छ ।

इलामको ठूलो टुँडिखेलमा देखिएको यो दृश्य केवल एउटा छनोट प्रतियोगिताको दृश्य होइन यो अवसरको खोजीमा रहेका सयौँ बालबालिकाको सपना हो । स्रोतसाधन सीमित छन् । मैदान पर्याप्त छैन । नियमित प्रशिक्षणको वातावरण छैन । तर फुटबलप्रतिको चाहना भने कमजोर छैन । ठूलो टुँडिखेलमा दौडिरहेका यी साना खुट्टामध्ये कुनै खुट्टाले भोलि नेपालको राष्ट्रिय टोलीलाई विश्व फुटबलको मैदानसम्म पु¥याउने बिश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय