काठमाडौं । आज साउन २४ गते । ४९औं राष्ट्रिय भू–संरक्षण दिवस । ‘जलवायु अनुकुलनको आधार, व्यवस्थित एकीकृत जलाधार’ भन्ने नाराका साथ भू संरक्षण दिवस–२०८० विविध कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।

बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै प्राकृतिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भूक्षय कम गरी जमीनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले वि.सं. २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको दिन । विभाग स्थापना भएको श्रावण २४ गतेलाई ‘भूसंरक्षण दिवस’ को रुपमा मनाउने गरिएको छ ।

भू–संरक्षण दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका वडा नम्वर-७ ले बृक्षारोपण गरेको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालयको आयोजना र वडा नम्बर ७ को सहकार्यमा बृक्षारोपण गरिएको हो । चन्द्रागिरि नगरपालिकाको मुख्य सडकको रुपमा चिनिएको नागढुंगा कलंकी सडकखण्डमा पर्ने त्रिभुवन पार्कदेखि चेकपोष्ट चोकसम्मको सडकको फुटपाथमा कपुर र तेजपात गरी करिब दुई सय विरुवा रोपिएको वडा अध्यक्ष शम्भु केसीले जानकारी दिनुभयो । उहाँले वडालाई सफा, सुन्दर र हरियाली बनाउने उद्देश्यले पनि सडक किनारमा बृक्षारोपणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले यसअघि सडकको बीच भागमा रहेको डिभाइडरमा वडाको समन्वय र विभिन्न संघसंस्थाको सहयोगमा दुबो रोपिएको बताउनु भयो ।

बाढी, पहिरोका हिसाबले उच्च जोखिममा रहेको नेपालमा भू–संरक्षणको आवश्यकता र महत्व अधिक छ । अव्यवस्थित नदी उत्खनन, अवैज्ञानिक भू–उपयोग, संरक्षण एवं वातावरण मैत्री विकासको अवधारणा विपरित जथाभावी संचालन गरिने विकास निर्माणका कार्यहरु, वन जंगलको विनास, जनचेतनाको कमी आदि मानविय कारणहरु समेतले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजार समेत हरेक वर्ष बाढी र पहिरोको चपेटामा परी सयौंको ज्यान जाने र अर्बौको भौतिक पूर्वाधार तथा सम्पत्तिको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय