काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा साँझ ५ बजेसम्म सार्वजनिक गरिसक्ने जानकारी दिनुभएको छ । उहाँका अनुसार मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ र त्यसपछि मतगणना सुरु गरी दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

रिक्त रहेका १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ। कोशी प्रदेशमा भने एक पद निर्विरोध चयन भइसकेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा सबै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताइएको छ ।

मतदान कोशी प्रदेशमा विराटनगर, मधेसमा जनकपुर, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा दाङ, कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा धनगढीस्थित तोकिएका मतदान केन्द्रहरूमा भइरहेको छ । निर्वाचन आयोगले निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय