काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकार्य गर्न चाहेका दल र व्यक्तिहरूका लागि आफ्नो धारणा सार्वजनिक गरेका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा रिहा भएपछि चितवनमा पहिलोपटक आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले आफ्नो प्रतिवद्धता स्पष्ट पारे।



लामिछानेले भने, “म मिल्न चाहने सबैलाई भन्छु, जे चाहिन्छ दिन्छु—पार्टी चाहिन्छ भने पार्टी, चुनावचिह्न चाहिन्छ भने चुनावचिह्न, अध्यक्ष चाहिन्छ भने अध्यक्ष, उपाध्यक्ष चाहिन्छ भने उपाध्यक्ष। तर सबैभन्दा महत्वपूर्ण कुरा, देश बन्नुपर्छ। उनले चुनावकालीन मात्रै होइन, दीर्घकालीन एकतालाई महत्व दिनुपर्नेमा जोड दिए। उनका अनुसार, “एकता एउटा चुनावका लागि मात्र होइन, सधैंका लागि हुनुपर्छ। यदि केवल चुनावकालीन एकता हुनेछ भने, म माफी चाहन्छु।”
यसैबीच, लामिछानेले सहकार्यका लागि खुलेर आफू तयार रहेको संकेत दिएका छन् र देश र जनताको हितलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीभित्र र विभिन्न दलसँगको समन्वयलाई सुदृढ गर्दै दीर्घकालीन राजनीतिक स्थायित्व निर्माण गर्ने उनको लक्ष्य रहेको बुझिएको छ।



