रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी छाडेको घोषणा गरेका छन्। कुँवरका अनुसार, पार्टीले प्राइमरी निर्वाचन नगरी उम्मेदवार सिफारिस गरेकोमा असन्तुष्ट भएर उनले पार्टी छाडेका हुन्। रुपन्देही–१ बाट कुँवरसहित ६ जना उम्मेदवार सिफारिस भए पनि पार्टीले प्राइमरी नगरी सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो।
उम्मेदवार आकांक्षीबाट शुल्क लिने तर प्राइमरी नगर्ने प्रणालीलाई कुँवरले भ्रष्टाचारको नयाँ तरिका भन्दै आलोचना गरेका छन्। उनले भने, “रास्वपाले विदेशमा बस्ने नेपालीको भावनामा खेलवाड गरेको छ। अब म कुनै हालतमा पार्टीमा फर्किने छैन।”



यसअघि रास्वपाका नेता प्रणयशमशेर राणाले पनि प्रारम्भिक निर्वाचन प्रक्रियामा अपारदर्शी काम भएको भन्दै आपत्ति जनाएका थिए। राणाका अनुसार पार्टीले प्रत्यक्ष उम्मेदवारका लागि २५ हजार र समानुपातिकका लागि ५० हजार रुपैयाँ शुल्क लिने गरेको छ। कुँवर र राणाको आपत्तिसँगै रास्वपाको उम्मेदवार छनोट प्रक्रिया विवादास्पद बनेको छ।



