रुसको भाडाका सैनिक तैनाथ गर्ने निजी कम्पनी वाग्नर समूहले सैन्य विद्रोह सुरु गरेको छ । वाग्नर समूहले रुसको दक्षिणी सैन्य जिल्लामा विद्रोह सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वाग्नर समूहका प्रमुख गेभ्गेनी प्रिगोजिनले आफ्ना लडाकुहरुले युक्रेनी सीमा पार गरी रुस प्रवेश गरेको घोषणा गरेको बीबीसीले जनाएको छ ।
हाल वाग्नर समूहका भाडाका लडाकुहरुले रुसको दक्षिणी सहर रोस्टोभ अन डोनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । प्रिगोजिनले आफ्नो बाटो रोक्न खोज्ने जो कसैलाई पनि आफ्ना लडाकुले ध्वस्त पारिदिने चेतावनी दिएका छन् । सैन्य विद्रोह जारी रहेको रुसी भूभागका गभर्नरले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेका छन् । वाग्नर समूहले युक्रेनमा जारी रुसी आक्रमणमा महत्वपूर्ण भूमिका निवाह गर्दै आएको छ । यद्यपि पछिल्लो समय वाग्नर समूहका प्रमुख प्रिगोजिनले रुसी सैन्य नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै आएका छन् ।



यसैबीच, सेन्ट पिटर्सबर्गमा रहेको वाग्नर समूहको कार्यालयमा छापा मारिएको छ । मास्क लगाएका र स्वचालित राइफलसहित सशस्त्र व्यक्तिहरू सेन्ट पिटर्सबर्गको ब्लागोभेसचेन्स्की ब्रिज नजिकै वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग जोडिएको होटल र रेस्टुरेन्टको घरमा तैनाथ थिए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोस्तोभ सहरमा वाग्नर समूहको कारबाहीपछि देशलाई सम्बोधन गरेका छन् । उनले केही रुसी नागरिकलाई आपराधिक गतिविधिमा संलग्न गराउन उक्साइएको बताए ।
पुटिनले रुसको भविष्य खतरामा रहेको पनि बताए । उनले विद्रोहीको गतिविधिलाई ‘पिठमा छुरा प्रहार’ भनेका छन् । आफ्नो सम्बोधनमा वाग्नर समूहका मालिक येभगेनी प्रिगोजिनको नाम नलिई उनले केही व्यक्तिहरूको उच्च महत्वाकांक्षाले ठूलो धोका दिएको जिकिर गरे । रुसी समाजलाई विभाजित गर्न खोज्नेलाई अवश्य कारबाही गरिने पनि रुसी राष्ट्रपतिले बताए । येभगेनी प्रिगोजिनले २०१४ मा वाग्नर समूह स्थापना गरेका थिए । उनले यो समूह रुसी जनताको सुरक्षाका लागि सिर्जना गरिएको दाबी गरेका थिए ।।



