काठमाडौं । रोल्पामा यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दाङको घोराहीबाट रोल्पाको बागमाराका लागि छुटेको लु.१ ज ४८५४ नम्बरको बोलेरो जिप रुन्टीगढी गाउँपालिकाको वडा नं. ५ खुमबासामा दुर्घटना हुँदा परिवर्तन गाउँपालिका वडा नं. ६ बस्ने २४ वर्षीया विष्णुमाया बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार जिपमा सवार ११ जनामध्ये १० जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा माडी गाउँपालिका–५, का सवारी चालक २२ वर्षीय भरत वली, परिवर्तन गाउँपालिका–६ कि १८ वर्षीया प्रतिभा पुनमगर, वडा नं. ४ कि १९ वर्षीया जुना वली, वर्ष २६ कि हिमाली वली, वडा नं. ३ कि ३२ वर्षीया खिमा केसी, वडा नं. ६ कि ३० वर्षीया पुष्पा बुढामगर रहेका छन् । त्यस्तै सोही गाउँपालिका वडा नं. ६ का ३ वर्षीय साइमन पुन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ कि १७ वर्षीया सुस्मा केसी, माडी गाउँपालिका–३ का ६० वर्षीय भिमु राना र परिवर्तन गाउँपालिका–६ कि १२ वर्षीया चाँदनी बुढा घाइते भएको प्रहरीको भनाइ छ । घाइतेहरुको अवस्था सबैको मध्यम रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । घाइतेहरुलाई दाङको घोराहीस्थित राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।
सहिदमार्ग अन्तर्गतको उक्त सडकमा दुर्घटनाग्रस्त जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो । घटना भएको खबरलगत्तै इलाका प्रहरी कार्यालय होलेरीबाट गएकोे प्रहरी टोली उद्धार गरेको थियो । घटनास्थलको सडक अवस्था सजिलो भएपनि के कारणले दुर्घटना भएको हो भन्नेबारेमा एकिन नभएको प्रहरीको भनाइ छ ।



