काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पछिल्लो पटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो । तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही पहिले नै लाइन काटिएको थियो । डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौताका कारण मात्र अब कुनै पनि विद्युत्को लाइन काटिएको अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले गत असोज १२ गते पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्यदिनको समय दिएको थियो । सो सूचना अनुसार १३ औद्योगिक ग्राहकले बक्यौता तिरेका थिए भने नतिरेका २५ उद्योगको लाइन काटिएको थियो । प्राधिकरणले कात्तिक ४ गते मुख्य ठुला ६ उद्योगको लाइन काटेको थियो भने कात्तिक ७ गते बाँकी उद्योगको बिजुली आपूर्ति काटेको थियो ।



डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा रहेका ६ वटा उद्योगले भने अन्तरिम आदेश लिएकाले विद्युत् लाइन काटिएको थिएन भने सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले यसअघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण लाइन काटिएको थिएन ।



