प्राइम टेलिभिजनका सञ्चालक तथा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाविरुद्ध चेक बाउन्सको मुद्दा परेको छ । व्यवसायी राजन गिरीले धमलाले ४० लाख रुपैयाँ सापटी लिएर समयमा फिर्ता नगरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका छन् । गिरीले धमलाका पीए ध्रुव, अर्का व्यक्ति केशर र धमलाकी पत्नी एलिजाको नाममा क्रमशः १५ लाख, १८ लाख, र ७ लाख गरी ४० लाख रुपैयाँ पठाएका थिए । उक्त रकम फिर्ता माग्दा धमलाले दिएको एनआईसी एशिया बैंकको चेक तीन पटक बाउन्स भएपछि बैंकिङ कसुरमा उजुरी दर्ता भएको हो ।
यसअघि पनि धमलामाथि विदेश पठाउने बहानामा लाखौँ रुपैयाँ असुलेर नफर्काएको आरोप लागेको थियो । केही पीडितहरूले सार्वजनिक रूपमा गुनासो गरेपछि धमलाले त्यो रकम फिर्ता गरेका थिए ।

मिडिया व्यवसायीहरूमाथि आर्थिक अनियमितताको आरोप

यस घटनाले नेपाली मिडिया मालिकहरूमा आर्थिक अनियमितताको विषयलाई पुनः सतहमा ल्याएको छ । नेपालका ठूला मिडिया हाउसका सञ्चालकहरू व्यवसायी, बैंक, सहकारी तथा सर्वसाधारणसँग ठगी गर्ने, कर्मचारीको तलब नदिने र गैरकानुनी आर्थिक गतिविधिमा संलग्न रहेको आरोपमा तानिँदै आएका छन् । पछिल्लो समय, एभिन्यूज टेलिभिजनका सञ्चालकहरूमाथि पनि आर्थिक अनियमितता र ठगीका गम्भीर आरोपहरू लागेका थिए । व्यापारी, बैंक तथा अन्य व्यवसायिक संस्थाहरूसँग डर देखाएर रकम असुल्ने, टेलिभिजनकै कर्मचारीलाई तलब नदिने, तर आफ्ना व्यक्तिगत विलासिताका लागि ठूलो रकम खर्च गर्ने जस्ता घटनाहरू बाहिरिएका छन् ।

मिडिया क्षेत्रको नैतिकता र आर्थिक पारदर्शीतामाथि प्रश्न

नेपाली मिडिया व्यवसायीहरूमाथि बारम्बार आर्थिक अनियमितता र व्यक्तिगत आचरणका विवादहरू आउँदा पत्रकारिता क्षेत्रको विश्वसनीयता घट्दै गएको छ । कार्यालयका कर्मचारीलाई तलब नदिएर आर्थिक समस्यामा पार्ने तर उच्च पदस्थ व्यक्तिहरू विलासितामा रमाउने प्रवृत्ति व्यापक रूपमा देखिन थालेको छ । यसको पछिल्लो उदाहरण ऋषि धमलाविरुद्ध प्रहरीमा परेको जाहेरीलाई लिन सकिन्छ । यद्यपि, धमलाले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । यस घटनाले नेपाली मिडिया उद्योगभित्रको आर्थिक पारदर्शीतामाथि थप प्रश्न उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय