काठमाडौं । नेपालले जेलबाट भागेका कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ । बुधबारदेखि भारतको नयाँदिल्लीमा सुरु भएको नेपाल भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षाचुनौती थपिएको भन्दै नियन्त्रण गर्न भारतीय पक्षसँग आग्रह गरेको हो । यसैगरी बैठकमा खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा पनि छलफल भएको छ । छलफलमा नेपालले सीमामा नेपालीमाथि हुने दुव्र्यवहार, लुटपाट रोक्नुपर्ने, भारतबाट आउने लागुऔषध नियन्त्रण गर्नुपर्ने, राजस्व छली रोक्न सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ ।
जवाफमा भारतीय सशस्त्र सीमा बलका प्रतिनिधिले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । शुक्रबार सम्म हुने बैठकमा आगामी रणनीतिसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।






