लुम्बिनी — पाँच वर्षदेखि खुला आकाश मुनि अलपत्र परेका विद्युतीय बस र भ्यानहरू प्रधानमन्त्री कार्यालयको निर्देशनपछि बुधबारदेखि सञ्चालनमा आएका छन्। यी गाडीहरू पर्यावरणमैत्री सेवा र पर्यटक सुविधाका लागि एसियाली विकास बैंक एडीबीको अनुदान सहयोगमा लुम्बिनी विकास कोषले ल्याएको थियो।

लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनमा नआएको कारणले पर्यटक र स्थानीय प्रशासनमा समस्या देखिएको थियो। सुरुमा कानुनी, नम्बर प्लेट, भाडा र रुट निर्धारणमा बाधा देखिएपछि बसहरू लामो समय चल्न सकेनन्। केही बसहरू बिग्रिएका, टायर पञ्चर भएका, सीट च्यातिएका र रंग खुइलिएका अवस्थामा थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं लैजान तयारी गरेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह को सचिवालयले गाडी लुम्बिनीमै सञ्चालन गर्न निर्देशन दियो। त्यसपछि लुम्बिनी विकास कोषले कानुनी र व्यवस्थापकीय बाधा समाधान गरी बस र भ्यानहरू सञ्चालनमा ल्याएको हो।

विद्युतीय बसहरू लुम्बिनी एयरपोर्ट–बेलहिया र लुम्बिनी–तिलौराकोट–कुदान रुटमा चल्नेछन्। अन्य तीन गाडी रामग्राम, देवदह र बुटवलसम्म सञ्चालनका लागि मर्मत गरिने तयारी छ। बसहरूले पर्यटक र स्थानीयलाई ध्वनि र धुवाँरहित सुविधा प्रदान गर्नेछन्।

लुम्बिनी विकास कोषका अनुसार विद्युतीय बस र भ्यान अत्याधुनिक सुविधासहित निर्माण भएका छन्। १९ सीट क्षमताको बसमा ३५ जनासम्म उभिएर यात्रा गर्न सकिन्छ, अपांगमैत्री सुविधा छ र स्वचालित ढोका तथा कार्ड प्रणालीबाट स्टार्ट हुने व्यवस्था छ। एकपटक चार्ज गरे ४०० किलोमिटर यात्रा सम्भव छ।

विकास कोषका पदाधिकारीहरूले अब बस सञ्चालनलाई नियमित र दीर्घकालीन बनाउन व्यवस्थापन प्रणाली सुधार गर्दै, चार्जिङ स्टेशनहरू र भाडा व्यवस्थापनलाई व्यवस्थित गर्ने काम अघि बढाउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय