काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ निवासी ३२ वर्षीय पेमा लामा रहेका छन । उनी कन्टेनर चालक रहेको प्रहरीले जनाएको छ । ना ६ ख ७५९१ नम्बरको कन्टेनरमार्फत चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको भेप बरामद गरिएको प्रहरीले जनाएको छ ।



नेपाल–चीन सिमानास्थित कोरोला नाका नजिकबाट ८० कार्टुन भेपसहित लामालाई नियन्त्रणमा लिइएको हो । बरामद गरिएका विद्युतीय चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको जनाइएको छ ।



