काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्र्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताउनुभयो । राष्ट्रपति पौडेलले मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निर्बाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिनु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।



राजनीतिक परिवर्तनपछिको जनचाहना भनेको शान्ति, स्थायित्व र विकास भएको बताउँदै सामाजिक न्यायसहितको समयानुकूल आर्थिक नीति र कार्यक्रम बनाएर मुलुकको आर्थिक विकासको सपना साकार पार्नु मूल दायित्व भएको राष्ट्रपति पौडेलको भनाइ छ ।
उहाँले लोकतान्त्रिक आदर्श, मूल्य मान्यता र निष्ठाका लागि प्रजातन्त्र सेनानी अनवरत क्रियाशील रहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताउनुभयो ।



