असोजमा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको मर्मत अझै नसकिनुका कारण सिन्धुलीका जुनार किसान ठूलो समस्यामा परेका छन्। काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने यो प्रमुख राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा सहज नहुँदा किसानले आफ्नो उत्पादनको ६० प्रतिशतभन्दा बढी विक्री गर्न सकेका छैनन्।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ तीनकन्याका गोपाल तामाङको बगैंचामा जुनार र सुन्तलाले लटरम्मै भरे पनि बिक्री नभएर कुहिने अवस्थामा पुगेको छ। राजमार्गमा यात्री सवारी साधनको चाप कम हुँदा ठूला र साना व्यापारीले थोकमा फलफूल किनेर बिक्री गर्न सकेका छैनन्।



यो समस्याले किसानहरूको आर्थिक अवस्था झनै कमजोर बनाएको छ। विगतमा पुसको दोस्रो सातासम्म ८० प्रतिशतभन्दा बढी जुनार बिक्री हुने गोलञ्जोरमा यस वर्ष बगैंचामै कुहिने डर छ। विपी राजमार्ग र सिन्धुलीका बजार क्षेत्रमा करिब ३ सय स्टलमा जुनार बिक्रीका लागि राखिएको भए पनि ग्राहकको कमीले व्यापार मन्द रहेको छ।
सिन्धुलीकै पहिचान बनेको जुनारबाट यस वर्ष ५२ करोड आम्दानी हुने अपेक्षा गरिएको भए पनि कमजोर यातायात र बजारसम्मको पहुँच नहुँदा यो लक्ष्यमा पुग्न गाह्रो देखिएको छ। किसानहरूले सरकार र स्थानीय निकायसँग राजमार्ग मर्मतको काम छिटो सम्पन्न गर्न माग गरेका छन्।



