काठमाडौं । फिफा विश्वकप–२०२६ को उद्घाटन सत्रमा सहभागिता जनाउन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई ध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ ।



पंकज र किरण मंगलबार बिहान मेक्सिको जानका लागि विमानस्थल पुगेका थिए । अध्यागमन विभागले कालोसूचीमा रहेका कारण दुबै जनालाई फर्काइदिएको हो । यसअघि सामेबार मात्र अध्यक्ष नेम्वाङ र राई विदेश जान पाउनु पर्ने माग राख्दै राष्ट्रिय खेलकुद परिषद् पुगेका थिए ।
राखेपका सदस्य सचिव रामचरित्र मेहतासँग विदेश यात्राका लागि सहज बनाइदिन आग्रह गरे पनि राखेपले विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको हो । राखेपको निर्देशनसमेत अवज्ञा गर्दै अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा सहभागी हुन एन्फा अध्यक्ष र महासचिव मंगलबार विमानस्थल पुगेका थिए । विश्वकपको उद्घाटन शनिबार तीन वटै देशमा हुँदैछ ।
आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाख ११ गते एन्फा अध्यक्ष र महासचिवसहित २४ जनालाई विदेश जान रोक लगाएको थियो । यसअघि एन्फालाई तहगत निर्वाचन नगरेको भन्दै राखेपले तीन महिना निलम्बनको कारबाही गरेको थियो । तर राखेपले दुई महिनापछि एन्फामाथिको निलम्बन फुकुवा गरिदिएको थियो ।



