त्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न हुँदैछ। दुई दिनदेखि जारी महाधिवेशनमा राजनीतिक, संगठनात्मक, विधान संशोधन र समसामयिक प्रस्तावहरूमाथि गहन छलफल भएको छ। महाधिवेशनमा १० वटा समूह गठन गरी विभिन्न प्रतिवेदनमाथि छलफल गरिएको थियो। ती समूहहरू प्रदेश, उपत्यका तथा केन्द्रीय संरचना अनुसार गठन गरिएका थिए। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधिहरूले छुट्टाछुट्टै समूह बनाएर राजनीतिक दस्तावेज, संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावहरूमा आफ्नो धारणा राखेका थिए।
प्रत्येक समूहका टोली नेताले आज समूहगत निष्कर्षहरू प्रस्तुत गर्ने कार्यक्रम छ। ती सुझाव, जिज्ञासा र सिफारिसहरूलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। यदि कुनै विषयमा सहमति जुट्न नसकेमा मतदानमार्फत निर्णय गर्ने तयारी गरिएको छ। महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै, विभिन्न परिषद्का प्रतिवेदनहरूमाथि पनि समग्र छलफल भएको छ।



महाधिवेशनको अन्तिम दिन आज समसामयिक प्रस्ताव पनि पारित गरिने छ। उक्त प्रस्ताव तयार गर्न योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। आजै एमाले केन्द्रीय निर्वाचन आयोगको निर्वाचन पनि सम्पन्न हुने भएको छ। महाधिवेशनमार्फत पार्टी विधानलाई अद्यावधिक गर्नुका साथै संगठनको आगामी कार्यदिशा, नीति र कार्यक्रम तय गरिने छ। महाधिवेशनको समापनसँगै पार्टी नेतृत्वले नयाँ ऊर्जा र स्पष्ट मार्गचित्रका साथ अघि बढ्ने जनाएको छ।



