काठमाडौं – साउन महिनामा आराध्यदेव भगवान पशुपतिनाथको पूजा आराधना तथा दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ। साउन महिना र सोमबारलाई भगवान शिवको विशेष महिना र बारका रूपमा मानिने भएकाले यस अवधिमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा भक्तजन आउने गर्दछन्। भक्तजनलाई सहज र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले सफाइ अभियान सुरु गरेको जनाएको छ।
कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार अभियानको पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म सरसफाइ गरिएको छ। अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो। उहाँका अनुसार आइतबार अपराह्नपछि मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा विशेष सफाइ गरिनेछ। यस कार्यमा सुरक्षा निकायलाई समेत सहभागी गराइने तयारी गरिएको छ।



पहिलो दिनको सफाइ अभियानमा एक दर्जनभन्दा बढी संघसंस्थाको सहभागिता रहेको थियो। कोषले प्रत्येक हप्ताको शनिबार नियमित सफाइ अभियान सञ्चालन गर्ने तयारी गरेको छ भने साउन महिनाभर आवश्यकता अनुसार अन्य दिनमा पनि विशेष सरसफाइ गरिने जनाएको छ। साउनका सोमबार पशुपतिनाथ दर्शनका लागि देशभरबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले मन्दिर परिसर, घाट तथा आसपासका क्षेत्रलाई स्वच्छ र व्यवस्थित राख्न अभियान सञ्चालन गरिएको कोषले जनाएको छ।



