काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जको नगर क्षेत्रमा लगाएको कर्फ्यु यथावत राख्ने निर्णय गरेको छ । यसका साथै प्रशासनले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न सबैमा अनुरोध गरेको छ । विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण-प्रकाशन नगर्न-नगराउन अनुरोध गरेको हो । विज्ञप्तिमा ‘नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरु प्रचार–प्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे-गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ उल्लेख छ ।



बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न, सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायतलाइ प्रशासनले आग्रह समेत गरेको छ । नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको थियो । कर्फ्युपछि नेपालगन्जको अवस्था शान्त छ । अहिले नगरका विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।



