तनहुँ । देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायीक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाको व्यवसायीक खेतीको सुरुवात गरेको हो ।

डिभिजन वन कार्यालयले ४ लाख रुपैयाँ र सामुदायिक वनले १ लाख १० हजार रुपैयाँ लगानी गरी ८ हजार सर्पगन्धाको बिरुवा रोपिएको छ । सोही वडाकै चक्रवर्ती सामुदायिक वन समूहले ४ हजार र रानीवन समूहले १ हजार सर्पगन्धाको बिरुवा रोपेको छ भने देवघाट–५ कै कालिका सामुदायिक वन तथा वडा नं १ को सुनझाँक्री सामुदायिक वनले भने आफै उम्रिएको सर्पगन्धाको संरक्षण गरेको छ ।

सबडिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले वन समूहका उपभोक्तालाई सर्पगन्धाको महत्वको बारेमा जानकारी गराएपछि यसको व्यावसायीक खेती गर्न सम्भव भएको बताउनु भयो ।

२ सयदेखि ५ सय मिटरको उचाइमा मात्र सर्पगन्धाको खेती गर्न सकिन्छ । सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाइन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निन्द्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगीजस्ता रोगहरूका लागि अचुक औषधिको रुपमा लिइन्छ ।

सरकारले आर्थिक समृद्धिका लागि प्राथमिकता राखेका ३० प्रकारका जडीबुटीमध्ये सर्पगन्धा एक हो । यसको निकासी भन्सार दर नै प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय