काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन संचालनमा आवश्यकता अनुसार रोक लगाउने भएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको दोस्रो बैठकले सार्वजनिक निजी सवारी साधन संचालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्लामा सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।
बैठकले मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानसमेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक संजालहरू समेतमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सवारी साधनमा रोक लगाउन पहल गरिने निर्णय गरेको छ ।
सडक÷राजमार्गमा बाढी, पहिरो, डुबान आदिका कारणले जुनसुकै बेला जुनसुकै स्थानमा अबरोध आउन सक्ने हुँदा सडक राजमार्ग तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।



