लगातर आएको अविरल वर्षाले सिन्धुपाल्चोकको जनजीवन अस्तव्यस्त मात्रै बनेको छैन सञ्चारबाट समेत पूर्ण रुपमा विच्छेद भएको छ । प्राप्त समाचार अनुसार सिन्धुपाल्चोकभर टेलिफोन, मोबाइल लगायत कुनै पनि सञ्चार सम्पर्क हुन सकेको छैन । अधिकांश टेलिफोन टावर र बिजुलीका पोलहरु पहिरोले क्षति भएपछि त्यहाँ विद्युत समेत अवरुद्व भएको छ । वर्षासँगै आएको बाढीले चीनसँग जोडिएको तातोपानी नाकाको पुल बगाउँदा सम्बन्ध विच्छेद हुन पुगेको छ ।
भोटेकोशी गाउँपालिक वडा नम्बर ३ का वडा अध्यक्ष निमासोना शेर्पाले तातोपानी नाका जोडिने लार्चा बेलीब्रिज, लिपिङखोलामा रहेको बेलिब्रिज र सोहीको ग्रामिण भेगमा जाने पक्की पुल बगाएको बताउनु भयो । पुल बगाउँदा तातोपानी र बाह्रबिसे आउन सम्पर्क विच्छेद भएको छ ।
त्यसैगरी अविरल वर्षापछि गएको पहिरोले गएराति लिसंखुपाखरमा दुईजना दम्पतिको ज्यान गएको छ । भैंसेपारी सिन्धुबीच रिसोर्टमा पहिरोले क्षति पु¥याएको छ ।



जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाए अनुसार अरनिको राजमार्ग पुरै अवरुद्ध भएको छ । बन्देउदेखि नै पहिरो खसकोले सडक बन्द छ । सवारीसाधन सडकमा अलपत्र छोडेर मानिस सुरक्षित ठाउँमा गएका छन् । सुनकोसी, भोटेकोसी, ब्रम्हायणी र ईन्द्रावती नदीले खतराको तह पार गरिसकेको छ ।
अधिकांश सडक मार्ग अवरुद्ध भएका छन् । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएका छन् । गाउँ पुग्ने सबै सडक पहिरोले बन्द भएको छ । नदी तटीय क्षेत्रका मानिस घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् ।
तातोपानी, बाह्रबिसे, खाडिचौर, मेलम्ची, जलबीरे, तिपेनी र बन्देउ क्षेत्रका स्थानीय त्रसित भएका छन् । मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको प्रहरीले जनाएको छ ।



