सिरहा –  सिरहाको नरहा गाउँपालिका–३ स्थित रोजी मेडिकलनजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन्।शनिबार बिहान करिब ७ः३५ बजे गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले राजमार्गमा हिँडिरहेका पैदलयात्री र साइकलमा सवार व्यक्तिलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

ट्रकको ठक्करबाट नरहा गाउँपालिका–३ का करिब ५०/५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। दुर्घटनामा सोही स्थानका करिब ४५ वर्षीय राजातुल अन्सारी घाइते भएका छन्। अन्सारीको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीका अनुसार बिहानको समयमा राजमार्गमा सवारीसाधनको आवागमन भइरहेका बेला ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनापछि केही समय घटनास्थलमा भीडसमेत लागेको थियो। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जनाएको छ।

दुर्घटनामा संलग्न ट्रकका चालक धनुषाको मिथिला नगरपालिका–९ निवासी सत्यनारायण महतोका करिब २५ वर्षीय छोरा कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकसमेत इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। दुर्घटनाको कारण, चालकको अवस्था तथा अन्य पक्षबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय