काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर चोरी भएपछि सयौं किसान समस्यामा परेका छन् । धान रोपाइँको तयारी भइरहेका बेला सिँचाइका लागि प्रयोग हुँदै आएको ट्रान्सफर्मर चोरी हुँदा करिब तीन सय बिघा खेतीयोग्य जमीन बाँझो रहने जोखिम बढेको छ ।

ट्रान्सफर्मर अभावले किसानलाई थप आर्थिक भार समेत परेको छ । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा रहेको ११ हजार भोल्ट क्षमताको विद्युत् ट्रान्सफर्मर चोरी भएपछि किसान संकटमा परेका छन् । बुधबार राति ट्रान्सफर्मर चोरी भएपछि करिब तीन सय किसान प्रत्यक्ष प्रभावित भएका छन् । धान रोपाइँको तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी भएपछि अब डिजेल वा अन्य वैकल्पिक माध्यम प्रयोग गरेर सिँचाइ गर्नुपर्ने बाध्यता आएको छ । समयमै सिँचाइको व्यवस्था हुन नसके करिब तीन सय बिघा खेतीयोग्य जमिन बाँझो रहने खतरा छ ।

ट्रान्सफर्मर चोरीमा विद्युत् सम्बन्धी प्राविधिक ज्ञान भएका व्यक्तिको संलग्नता हुन सक्ने स्थानीयको आशंका छ । सामान्य व्यक्तिले ११ हजार भोल्टको लाइनमा जोडिएको ट्रान्सफर्मर निकाल्न नसक्ने उनीहरूको भनाइ छ । घटनाबारे जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय, नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहलाई जानकारी गराइएको वडा कार्यालयले जनाएको छ । किसानको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको र आवश्यक परे वडाको बजेटबाट समेत नयाँ ट्रान्सफर्मर जडान गर्ने पहल गरिने जनप्रतिनिधिको प्रतिबद्धता छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहबाट ट्रान्सफर्मर चोरी सम्बन्धी उजुरी बढ्दै गएको जनाएको छ । हालसम्म यस्ता १५ वटा उजुरी प्राप्त भएको र घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय