सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल, र ४५ वर्षीय कमलेशकुमार दास रहेका छन्। उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी घटनालाई मिलाउने प्रयास गरेको आरोपमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवान ले जानकारी दिए। अदालतबाट पाँच दिनको म्याद थप भएसँगै उनीहरूलाई इलाका प्रहरी कार्यालय, लहानको हिरासतमा राखिएको छ।
चारवटा मुद्दामा ८ जनाविरुद्ध जाहेरी
मृतक परिवारले कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक, र लेनदेन मिलापत्र सम्बन्धी चारवटा अभियोगमा ८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन्। गत माघ ३० गते, रिंकुकुमारी सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसअघि माघ २७ गते राति, शौच गर्न गएकी उनलाई सामूहिक बलात्कार गरिएको थियो। तर, घटनालाई दबाउन गाउँमै पञ्चायती छलफल गरिएको खुलेको छ। वडासदस्यसहित स्थानीय व्यक्तिहरूको संलग्नतामा माघ २९ र ३० गते पञ्चायत बसेको थियो। पञ्चायतले पीडकबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना असुल्ने र पीडित परिवारलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो। हालसम्म बलात्कार आरोपमा संलग्न तीन जना फरार छन् भने, गाउँमै घटना मिलाउन खोज्ने पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ।






