सिरहा नगरपालिका–६ बसविट्टाका १० वर्षीय बालक राजन महराको प्रादेशिक अस्पताल सिरहामा उपचारका क्रममा निधन भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। मृतक बालकको परिवार र स्थानीयवासीले चिकित्सकीय लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै तीव्र विरोध प्रदर्शन गरेका छन्।मृतक बालक राजन महरा झल्कु महराका छोरा हुन्। उनलाई केही दिनदेखि ज्वरो आएको कारण उनका परिवारले स्वास्थ्य जाँचको लागि प्रादेशिक अस्पताल सिरहामा ल्याएका थिए। अस्पतालमा भर्ना गरिएपछि उनलाई दूध र बिस्कुट खुवाएर सुई दिइएको थियो। तर, सुई लगाएपछि बालकले चिच्याउँदै ूआमा, आमाू भनेर अन्तिम सास फेरेको ठुलीआमा सोभा महराले बताइन्। बालककी आमासमेत मानसिक आघातका कारण बेहोस भएकी छिन् र हाल उनी अस्पतालमै उपचाररत छन्।
घटनापछि आक्रोशित स्थानीयवासी र मृतकका आफन्तहरूले दोषी चिकित्सक तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कडा कारबाहीको माग गर्दै अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरे। उनीहरूले बालकको मृत्युलाई ‘चिकित्सकीय लापरवाहीको चरम उदाहरण’ भन्दै दोषीलाई तत्काल कारबाही नगरे अस्पतालको ताला बन्द गर्ने चेतावनीसमेत दिएका छन्।



सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले प्रादेशिक अस्पतालमा यस्ता घटनाहरू पटक–पटक दोहोरिइरहेको बताए। उनले यसअघि पनि सुधारको माग गर्दा बेवास्ता भएको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यादवको राजीनामा माग गरेका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। स्थिति नियन्त्रणबाहिर जाँदै गएपछि प्रहरीले एक राउन्ड आँसु ग्यास समेत प्रहार गरेको जनाएको छ। हाल प्रादेशिक अस्पताल क्षेत्र र सिरहा सदरमुकाम तनावग्रस्त छ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी बिरेन्द्र कुमार पासवानले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको बताएका छन्। मृतकको शव पोष्टमार्टमका लागि राखिएको छ र प्रारम्भिक रिपोर्टपछि थप कदम चालिने जनाइएको छ।



