परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउने महत्वपूर्ण सम्झौता भएको छ। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेका मन्त्री खनालले नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको हो।

भारतस्थित नेपाली दूतावासका अनुसार वार्तामा विकास सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलगायत समग्र द्विपक्षीय सम्बन्धबारे समीक्षा गरिएको थियो। साथै क्षेत्रीय तथा बहुपक्षीय हितका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

दुवै पक्षले नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि, तालिम र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वार्तापछि भारतले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत निर्माण सम्पन्न ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना नेपाललाई हस्तान्तरण गरेको छ।

त्यसैगरी भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन पियर–टु–पियर आबद्धताको औपचारिक सुरुवात गरिएको छ। साथै डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गर्नुभएको थियो। दूतावासका अनुसार नयाँ सरकार गठनपछि परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भारत भ्रमणले दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय