काठमाडौं । सुनसरीका विभिन्न स्थानमा आज दोस्रो दिन पनि निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको छ । कफ्र्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि बिहान हटाइएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्रमा पुनः जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका दक्षिणी सात बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालको आदेशअनुसार मङ्गलबार बिहान ७ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायत गतिविधि गर्न रोक लगाइएको छ । प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने जनाएको छ ।



निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र, नुनिया टोल बजार र देवानगञ्ज बजार क्षेत्र रहेका छन् । आदेशमा ती क्षेत्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमासमेत निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
आइतबार राति दुई समूहबिच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



