काठमाडौं । सुप्रिम सहकारीको प्रकरणमा रवि लामिछानेको संलग्नता सूर्यदर्शनको भन्दा गम्भीर देखिन्छ । सूर्यदर्शन ठगी काण्डमा सहकारीको हिनामिनासँग जोडिएका विभिन्न व्यक्तिहरू संलग्न रहेपनि सुप्रिम सहकारीमा पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु जीबी राई जस्ता प्रमुख व्यक्ति संलग्न छन् । सुप्रिमबाट रविको नाममा २ करोड रुपैयाँको ऋण प्रवाह भएको बैंकिङ स्लिप सार्वजनिक भएको छ । जुन रवि स्वयं सहकारीको सदस्य नभएका बेला प्राप्त भएको थियो । यो रविका लागि सूर्यदर्शनभन्दा गम्भीर छ ।

२०५७ सालमा ‘मैत्रेय बचत तथा ऋण सहकारी संस्था’को रूपमा स्थापना भएको सुप्रिम सहकारीले दशकौंपछि मात्र ठूलो परिचय बनायो । २०७२ सालमा गितेन्द्रबाबु (जीबी) राईको प्रवेशसँगै सहकारीको स्वरुप व्यापक रूपमा परिवर्तन भयो । जीबी राई समूहले सहकारीको नाम परिवर्तन गरी ‘सुप्रिम बचत तथा ऋण सहकारी संस्था’ राख्दै सहकारीको व्यावसायिक मोडललाई फेरबदल गर्न थाल्यो । जीबी राईले यस संस्थामा अध्यक्षको भूमिका लिए भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सहकारीका कोषाध्यक्ष बने । संस्थामा गोरखा मिडिया नेटवर्कका अध्यक्षसमेत भएका व्यक्तिहरूको प्रवेशले सहकारीलाई व्यापक प्रचार र विश्वास दिलाउने प्रयास गरियो ।

योजनाबद्ध ठगी र वित्तीय अपचलनको सुरुवात

जीबी समूहले सहकारीको वित्तीय प्रणालीलाई आफ्नो नियन्त्रणमा लिएको थियो, जसले गर्दा सहकारीका बचतकर्ताहरूको रकमलाई अव्यवस्थित रूपमा ऋण दिने, भुक्तानी नगर्ने र सहकारीको आर्थिक मापदण्डलाई ध्वस्त पार्ने रणनीति अपनायो । सहकारीले आवश्यक धितो विना मात्र ३ सय १२ जना सदस्यलाई ऋण प्रवाह गरेको देखिन्छ, जसमा १९ जनाले मात्र करिब ७५ प्रतिशत ऋण लिएका थिए ।

रवि लामिछाने र छविलाल जोशीको ‘रुपन्देही कनेक्सन’

सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम जोडिनुले काण्डलाई अझ गम्भीर बनाएको छ । सहकारीको सदस्य नरहेका लामिछानेको नाममा सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

यसैगरी, पूर्वडीआईजी छविलाल जोशीको नाममा २ करोड ५० लाख रुपैयाँ ऋण दिएको विवरणले ‘कनेक्शन’ अझ रहस्यमयी बनाएको छ । यस प्रकरणमा यस ऋणको एक हिस्सा गोरखा मिडिया नेटवर्कमा लगानी गरिएको विवरण पनि छानबिन प्रतिवेदनले देखाएको छ ।

सुप्रिम सहकारी प्रकरणको प्रभाव र राज्यको जिम्मेवारी

सुप्रिम सहकारी प्रकरणले १ हजार ८ सय बचतकर्ताको बचत हिनामिना भएको छ । यो रकम ८६ करोड रुपैयाँभन्दा बढीको भएको छ, जसको जिम्मा लिन कुनै निकाय तत्पर देखिँदैन । बचतकर्ताहरू आफ्नो रकम फिर्ता पाउने आशामा छन्, तर राज्यले यस्ता घटनामा ठोस निर्णय नगर्दा उनीहरूको विश्वास पनि हराउँदै गएको छ । लामिछाने, जीबी राई, छविलाल जोशीजस्ता व्यक्तिहरूको संलग्नताले सहकारीहरूको दुरुपयोगलाई संगठित अपराधको रूपमा देखाएको छ । त्यसैले रविका लागि सूर्यदर्शन भन्दा पनि सुप्रिम सहकारीको मुद्दा थप गम्भीर मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय