काठमाडौं । पोखराका सूर्यदर्शन सहकारीका निम्न वर्गीय बचतकर्ताको विचल्ली हुन थालेको छ । आफ्नो जीवनभरको कमाई सहकारीमा बचेत गरेर भविष्य उज्यालो बनाउँला भनेका बचतकर्ताहरु बचत पनि डुब्ने र यही पीरले आफन्तहरु पनि गुम्ने समस्यामा परेका छन् । पोखराको घारीपाटनमा डेरा गरी बस्ने भगवती थापा मगर त सूर्यदर्शन सहकारीकै कारण गहिरो आघातमा पर्नुभएको छ ।
घारीपाटनमा डेरा गरी बस्ने भगवती थापा मगरले घरभाडा तिर्न नसकेको २ वर्ष भयो । अहिलेसम्म घरबेटीले घरबाट निकालेका त छैनन् तर २ वर्षदेखि बाँकी रहेको र बढ्दै गएको भाडा सम्झिँदा घाँटीमा डोरीले कसेको जस्तो महसुस हुन्छ ।
भाडा त कहाँ हो कहाँ, बिहान साँझ हातमुख जोर्न पनि कठिन छ । न राम्रो कमाइ छ, न राम्रोसँग काम गर्नसक्ने शक्ति र जाँगर नै छ । सूर्यदर्शन सहकारी संस्थामा उहाँको २१ लाख ५३ हजार रुपैयाँ बचत छ । त्यसको ब्याज त कति पुग्यो कुन्नी ? दुई वर्षदेखि ताला लागेको सहकारी संस्थामा न ब्याज जोडिएको छ न बचतको हिसाब नै छ । भगवतीलाई यत्ति मात्र पीर भए त सहनुहुन्थ्यो । ४ दशकदेखि संघर्ष गरिरहेकी भगवतीलाई यस्ता समस्या त के समस्या लाग्थे र ? तर यही कारण श्रीमान् गुमाउनु पर्दाको चोटले मन, मुटु र भौतिक जीवनमै गहिरो आघात पुगेको छ । बचतकर्ताको रकम कुम्ल्याएर २ वर्षअघि सूर्यदर्शन सहकारीका सञ्चालकहरु फरार भएको खबर पाउनासाथ भगवतीका श्रीमान् वीरबहादुरलाई हृदयघात भयो । पोखरादेखि साउदी अरबसम्म गएर कमाएको र त्यसैबाट जोडेको पैसा सहकारीमा जम्मा गरेका वीरवहादुर पैसा डुबेको खबर सुन्नासाथ छाँगाबाट खसेजस्तो हुनुभयो । अस्पताल पुर्याएपछि डाक्टरहरुले मृत घोषणा गरिदिए । ३५ वर्षअघि लमजुङबाट सुख खोज्दै पोखरा आएको भगवती र वीरबहादुरको जोडीले दुःखले केही पैसा कमाएको थियो । सहकारीका मान्छे आए र धेरै ब्याज तथा पेन्सनसमेतको प्रलोभन देखाएर बचत गर्न लगाए । भगवती र वीरबहादुरले भएको नगद मात्र होइन जग्गासमेत बेचेर सहकारीमै जम्मा गरे ।



राम्रो होला भनेर गरेको बचतले भगवतीको जीवनमा नराम्रो मात्र होइन, नराम्रोको आँधी ल्यायो । पैसा त डुब्यो डुब्यो, श्रीमान् पनि आफूसँग रहनुभएन । अहिले भगवती सहकारीको कुरा सुन्नासाथ भक्कानिनु हुन्छ । २ वर्षदेखि भाडा तिर्न नसक्दा डेरामा मुख देखाउन गाह्रो भएको छ । अन्तै कतै जानलाई पनि उधारोले ठाउँ छोड्न दिँदैन । एक छोरा र एक छोरी त साथमै छन् तर उनीहरुको अनुहार हेरेर मात्र मन थामिन्न । पोखरामा सेती बरु लुकेर बग्छ भगवतीका आँखाको आशु लुक्न सकेको छैन । अब उहाँलाई सरकारको आश छ, सरकारले आफ्नो बचत फिर्ताका लागि पहल गरिदेला कि भन्नेमा हुनुहुन्छ । तर पछिल्ला दुई वर्षकै जस्तो पीडामा कति लतारिनु पर्ने हो, त्यसको ठेगान छैन । छ त केबल आफ्नो बचत लगेर कम्पनी चलाएकाहरुविरुद्ध आक्रोश छ । आफ्नो बचतको पैसा लगेर टेलिभिजनमा खन्याएका र दुरुपयोग गरेकाहरुविरुद्ध आक्रोश छ ।



