काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ । प्रतिष्ठानले स्तन क्यान्सरविरुद्धको मेटास्टेटिक (चौथो स्टेज) को हार्मोन पोजेटिभ भएका बिरामीलाई राइबोसिक्लिब लेट्रोजोल नामक ट्याब्लेट स्तन क्यान्सरका बिरामीलाई निःशुल्क उपलब्ध गराउन थालेको हो । अस्पतालबाट अहिलेसम्म चार जनाले सेवा लिइसकेको प्रतिष्ठानले जानकारी दिएको छ । यी औषधिहरू मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी रहने बताइएको छ । युएसएफडीए मान्यता प्राप्त यो औषधि युरोप अमेरिकामा पहिलो रोजाइमा पर्ने औषधि हो । किमो थेरापीको विकल्पमा स्तन क्यान्सर भएकालाई यो औषधि दिइने प्रतिष्ठानले जनाएको छ ।
पाटन अस्पतालले म्याक्स फाउन्डेशनको सहयोगमा यस अघि पनि फोक्सोको केही प्रकारको क्यान्सर, रगतको क्यान्सर, पेटको एक किसिमको क्यान्सर र मिर्गौला लगायतको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेकाहरूका लागि ‘टार्गेटेड थेरापी’ अन्तर्गत औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।






