काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि हवाई टिकटको कालोबजारी सुरु भएको छ । विमान कम्पनीहरुले पाँच गुणासम्म भाडा बढाएका छन् । यसको मारमा मुलुक भित्रै उपर्युक्त रोजगारीको अभावमा विदेशीन बाध्य श्रमिक परेका छन् ।
दैनिक १५ सय देखि २ हजारको हाराहारीमा नेपालीहरु रोजगारीका लागि विदेसिन्छन् । विमानस्थल १० घण्टा बन्द हुने भएपछि नेपाल वायुसेवा निगमसहित विदेशी वायुसेवा कम्पनीहरुले काठमाडौं उडानमा कटौती गरेका छन् । उडान कटौती भएपछि हवाई भाडा आकाशिएको छ ।



कुन गन्तव्यको भाडा कति बढ्यो ?
दिल्ली
पहिलेको भाडा : १२ देखि १५ हजार रुपैयाँ
अहिलेको भाडा : ३५ देखि ४० हजार रुपैयाँ
दुबई
पहिलेको भाडादर : ३० देखि ३५ हजार रुपैयाँ
अहिलेको भाडादर : ८० देखि ८५ हजार रुपैयाँ
साउदी
पहिलेको भाडा : ४० देखि ४५ हजार रुपैयाँ
अहिलेको भाडा : ८० देखि ८५ हजार रुपैयाँ
मलेसिया
पहिलेको भाडा : ३५ देखि ३८ हजार रुपैयाँ
अहिलेको भाडा : ६५ देखि ७० हजार रुपैयाँ
कतार
पहिलेको भाडा : ४५ हजार रुपैयाँ
अहिलेको भाडा : १ लाख देखि १ लाख १० हजार रुपैयाँ
कुवेत
पहिलेको भाडा : ४५ हजार रुपैयाँ
अहिलेको भाडा : १ लाख रुपैयाँसम्म
यी त केही प्रमुख गन्तव्यको भाडादर मात्रै हो, जहाँ सबैभन्दा धेरै आर्थिक अवस्था कमजोर भएका नागरिक श्रमका लागि जान्छन् । काठमाडौंबाट उडान हुनै सबै गन्तव्यको भाडादर दोब्बर, तेब्बर सम्मले बढाइएको छ । यसले श्रमिकको लागत बढ्न गई उनीहरुमा ऋणको बोझ थपिएको छ । एयरलाइन्स कम्पनीहरुलाई न नियमन न कुनै मापडण्ड । झन वैदेशिक रोजगारी ऐन २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उड्नुपर्ने बाध्यकारी व्यवस्थाले लुट धन्दा मच्चाउनेहरुलाई मनोमानी गर्न ठाउँ दिएको छ ।
अन्तर्राष्ट्रिय मात्र होइन आन्तरिक भाडा दर भने बढेको छ । बिहीबारसम्म काठमाडौं–धनगढीका लागि ७ हजार ७ सयमा टिकट बेचिसकेका विमानकम्पनीहरुले शनिवारका लागि १० देखि ११ हजारसम्म शूल्क लगाएका छन् । धनगढी मात्र होइन पोखरा, बिराटनगर लगायतका अन्य गन्तव्यको पनि मूल्य ३० देखि ४० प्रतिशतले बढाइएको छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु ३० प्रतिशत उडान कटौती भएको हुँदा भाडा बढेको भन्दै व्यापारीकै भाषा बोलिरहेका छन् ।



