काठमाडौं । हाईभिजन कोलनी समाज चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ र ७ ले विजया दशमी, दीपावली, नेपाल संवत ११४६ तथा छठ पर्वको शुभकामना आदान–प्रदान गरेको छ ।

हाईभिजन महिला समूहको कार्यालय (योगा हल) मा भएको कार्यक्रममा समाजका अध्यक्ष ताराबहादुर केसीले जेनजी आन्दोलनको क्रममा उत्पन्न भय अझै पनि यथावत रहेकोले चाडपर्वले अशान्त मनलाई शान्त बनाउन मद्दत पुर्याउने बताउनु भयो । उहाँले आन्दोलनको क्रममा सयौं कैदीबन्दीहरु कारागारबाट भागेकाले सुरक्षाको दृष्टिकोणले अन्य वर्ष भन्दा अहिले सुरक्षा चुनौति भएकोले चोरी, डकैतीबाट जोगिन सजग भएर पर्व मनाउन आग्रह गर्नुभयो ।

अध्यक्ष केसीले देश अहिले विषम परिस्थितिबाट अघि बढिरहेकोले अनेकतामा एकतालाई ध्यानमा राख्दै एक अर्काबीच समन्वय गर्दै अघि बढ्न पनि सुझाव दिनुभयो । उहाँले कुनै पनि बेला आफु घरबाहिर गएको समयमा छिमेकीलाई भनेर जान र आफु बाहिर गएको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि आग्रह गर्नुभयो ।

यस्तै समाजका संरक्षक डिबी थापा मगरले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले चाडबाडको समयमा समाजमा कोही नयाँ व्यक्ति देखिएमा उसलाई सबैले निगरानीमा राख्नुपर्ने बताउनु भयो । थापामगरले देश जलेर खरानी भएको अवस्थामा नकारात्मक सोचलाई निकालेर सकारात्मक विचार र भावना पैदा गर्दै पर्व मनाउन पनि सुझाव दिनुभयो ।

हाईभिजन सुरक्षा समितिका संयोजक विनयरत्न शाक्यले सुरक्षा संयन्त्र भन्दा पहिले छिमेकी हुने भएकोले एक आपसमा मिलेर सुरक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले समाजका कोही व्यक्तिले आफ्नो घर तत्कालै भाडामा दिंदै हुनुहुन्छ भने सुरक्षाको दृष्टिकोणलाई मध्यनगर गर्दै त्यस्ता व्यक्तिको परिचय खुल्ने कागजपत्र लिएर मात्र घरमा राख्न सुझाव दिनुभयो । उहाँले समाज सुरक्षार्थ आफुसहित ७० जनाको टिम भएकोले कुनै अप्ठ्यारो परेमा तुरुन्त सम्पर्क राख्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा हाईभिजन समाजका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय