काठमाडौं । हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको महाशक्ति साबुन उद्योगको गोदाममा गएराति भिषण आगलागी भएको छ । उद्योग परिसरमै रहेको तयारी साबुन र कच्चा पदार्थ राख्ने गोदाममा विद्युत् सर्ट भएर आगो सल्किएको बताइएको छ । आगोले गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङका सामग्री जलेर नष्ट भएका छन् ।



उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार आगो मध्यरातमा सुरु भएको थियो र तत्काल नियन्त्रणको प्रयास गर्दा पनि करिब १०–१२ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
घटनाको खबर पाउनेबित्तिकै हेटौँडा उपमहानगरपालिकाका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए । सुरक्षाकर्मी र स्थानीयको प्रयासले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



