काठमाडौं । आज १६औँ गणतन्त्र दिवस । २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य भई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आरम्भ भएको दिनको रुपमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
जनआन्दोलन ०६२-०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइने गरिएको छ । दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखलगायत संवैधानिक निकायका पदाधिकारी तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागी रहने छ ।



पहिलो संविधान सभाबाट राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई नै गणतन्त्र दिवसको रूपमा लिइएको छ । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही कदम चालेपछि संसद्वादी दल र माओवादीबीच कार्यगत एकता हुन पुग्यो । फलस्वरूप २०६२ मंसिरमा संसद्वादी दल र माओवादीबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्र स्थापनाका लागि आन्दोलन शुरू भयो । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो । यही आन्दोलन नै गणतन्त्र स्थापनाको जगको रूपमा स्थापित हुन पुग्यो । गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।



