काठमाडौं । साइबर प्रविधिमा आधारित ठगीका घटनामा १८ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकको ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ ले देखाएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग, नक्कली अनलाइन व्यापार प्लेटफर्म, लोटरी ठगी, ओटीओई ठगी र गिफ्ट–पार्सल ठगीजस्ता उपायहरू प्रयोग गरेर ठगी गरिने गरिएको अध्ययनले पुष्टि गरेको हो । त्यस्ता ठगी प्रकरणमा प्रायः नयाँ बैंक खाता खोलिएको तीन महिनाभित्रै शंकास्पद कारोबार भएको पाइएको छ । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले तयार पारेको प्रतिवेदनले विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका व्यक्ति साइबर ठगीमा संलग्न रहेको खुलासा गरेको छ । यसले युवापुस्तालाई लक्षित गर्दै गरिने अनलाइन ठगीको समस्या गम्भीर बन्दै गएको संकेत गरेको छ । ठगीका घटनाहरूलाई न्यून गर्न प्रतिवेदनले सूचक संस्था, अनुसन्धान निकाय, नियामक निकाय र कानुन कार्यान्वयन गर्ने निकायलाई ठोस कदम चाल्न सिफारिस गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई रेड फ्ल्याग सूची उपलब्ध गराउन प्रतिवेदनमा भनिएको छ ।



यस्तै ठगीको पहिचानका लागि प्रविधिमा आधारित विश्लेषण र निगरानी प्रणालीलाई मजबुत बनाउन समेत भनिएको छ । प्रतिवेदनले साइबर ठगी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिहरूको प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएको छ । यससँगै, डिजिटल सुरक्षामा सुधार गर्न जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । साइबर सुरक्षाको चुनौती बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा, सम्बन्धित निकायहरूले ठगी न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने देखिएको छ ।



