देशभरका आदिवासी जनजाति समुदायले ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस काठमाडौंमा भव्य रूपमा मनाएका छन्। राजधानीको राष्ट्रिय सभागृहमा मूल समारोह आयोजना गरिएको हो, जसमा विभिन्न जातीय समूहले सांस्कृतिक झाँकीसहित सहभागिता जनाए। भृकुटी मण्डपबाट सुरु भएको झाँकी टुँडीखेल परिक्रमा गर्दै सभागृहसम्म पुर्याइएको थियो। झाँकीमार्फत आदिवासी जनजातिका जातीय पहिचान, संस्कृति र अधिकारको सन्देश प्रवाह गरिएको थियो।



सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले प्रत्येक वर्ष अगस्त ९ मा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि २००४ सम्म ‘कर्म र मर्यादाका लागि दशक’ नारा दिएर आदिवासी दशकको घोषणा पनि गरिसकेको छ।
कार्यक्रममा आदिवासी जनजातिका प्रतिनिधिहरूले जल, जमिन र जंगलमा अधिकार सुनिश्चित गर्न, स्वायत्त क्षेत्रको प्रत्याभूति गर्न र आदिवासी समुदायका हितविरुद्ध हुने गतिविधि रोक्न सरकारसँग माग राखेका छन्। विशेष रूपमा पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार परियोजना रोक्नुपर्ने आवाज पनि उठाइएको छ।
कार्यक्रममा हजारौंको सहभागिता देखिएको थियो भने सांस्कृतिक झाँकी, लोकनृत्य र आदिवासी जनजातिका पहिचान झल्काउने प्रस्तुतिहरूले माहोल उल्लासपूर्ण बनाएको थियो।



