६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा चलाइएको मुद्दामा १३ प्रतिवादीको बयान सकिएको छ । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा आजसम्ममा १३ जना प्रतिवादीको बयान सकिएको हो । ७ चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङको बयान पुरा भएको अदालत प्रशासनले जनाएको छ ।



तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङको पनि बयान सकिएको छ ।अन्य प्रतिवादी हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टको समेत बयान सकिएको छ । संगिठत अपराधमा ६० दिन अनुसन्धान सकेर प्रकरणमा प्रतिवादी बनाइ मुद्दा चलाइएकामध्ये ९ विदेशीसहित १८ जना फरार छन् ।
उक्त ६० केजी र त्यसअघि विमानस्थलबाटै भएको ९ केजी सुन तस्करी प्रकरणमाथि जाँबुझ गर्न दलहरुले उच्च स्तरीय आयोग गठन गर्ने तयारी सुरु गरेका छन् । सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ । अघिल्लो आइतबार सरकारी वकिल कार्यालय काठमाडौंले ३ अर्ब ५० करोड ३० लाख बिगो दाबी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । सुन प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्ष छ । ५० मध्य ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।



