वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै आज नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा परम्परागत रूपमा मनाइँदै छ। विशेषगरी काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा यो पर्व अत्यन्तै धूमधामका साथ मनाइन्छ। इन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने चलन छ। यस पर्वको प्रारम्भ भाद्र शुक्ल द्वादशी का दिन राजधानीको ऐतिहासिक स्थान हनुमानढोकामा इन्द्रध्वज (लिङ्गो) ठड्याएर गरिन्छ। लिङ्गो ठड्याएपछि आठ दिनसम्म चल्ने जात्रामा विविध धार्मिक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिन्छ।
रथयात्रा र पूजाआजा



जात्राको मुख्य आकर्षण भनेको कुमारी, गणेश र भैरवको रथयात्रा हो, जसको अवलोकन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकबाट गरिन्छ। यस दिन काष्ठमण्डप क्षेत्रमा लाखौं मानिसहरू जात्रा हेर्नका लागि जम्मा हुने गर्छन्। जीवित देवी कुमारीको रथलाई विशेष रूपमा पूजा गर्ने परम्परा छ।
नाचगान र सांस्कृतिक कार्यक्रमहरू
जात्राको अवसरमा भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच देखाइन्छ। पुलुकिसी काठमाडौंका विभिन्न गल्ली, टोल र सडक हुँदै प्रदर्शन गरिन्छ, जसले जात्रामा थप रौनक दिन्छ।
इन्द्रध्वज र भैरवको पूजा
इन्द्रजात्राको प्रारम्भसँगै ठड्याइने इन्द्रध्वज (लिङ्गो) को फेदमा भैरवको विशेष पूजा गरिन्छ। इन्द्रध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। धार्मिक मान्यताअनुसार, यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा पनि लिइन्छ।
इन्द्रदहमा पूजाआजा र स्नानको परम्परा
इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकाको पश्चिममा रहेको दहचोकस्थित इन्द्रदहमा समेत भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ। भाद्र शुक्ल पूर्णिमासम्म यहाँ श्रद्धालुहरू पुगेर जाग्राम बस्ने, स्नान गर्ने र पूजाआजा गर्ने परम्परा रहेको धार्मिक मान्यता छ।
समापन : इन्द्रध्वज पातन
आठ दिनसम्म मनाइने यो जात्रा आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लिङ्गो लडाउन गरेर विधिपूर्वक समापन गरिन्छ। यो समापन धार्मिक विधान अनुसार नै गरिन्छ, जसलाई परम्परागत रूपमा अगुवा पुरोहित र समुदायले सम्पन्न गर्छन्।



