काठमाडौं महानगरपालिकाले महानगरभित्र बसोबासगर्ने सबैलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउने भएको छ । आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरबासीले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्य सोमबार महानगरले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्त सञ्चार सेवा सबै काठमाडौं महानगरबासीले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने प्रबन्ध मिलाएको मेयर बालेन्द्र शाह बालेनले जानकारी दिएका छन् ।
उनले रेडक्रस सोसाइटीसँगको सम्झौता भएको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेर यसबारे जानकारी दिएका हुन् ।‘यसबाट काठमाडौंबासी सबै लाभान्वीत हुने आशा हामीले गरेको छौं । काठमाडौ महानगरबासी भएको प्रमाण खुल्नेस नागरिकता वा बसाइँसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटी,केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निःशुल्क रुपमा रगत तथा रक्ततत्व उपलब्ध गराउने छ’, बालेनले लेखेका छन्, ‘राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्नेछ ।’



रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट रु २०० सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराइने उनले बताएका छन् ।
रक्तदान कार्यक्रमलाई थप प्रभावकारी र रत्तदाता मैत्री बनाइएको छ । नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा विना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रति युनिट रु १३०० उपलब्ध गराउने बालेनले उल्लेख गरेका छन् ।



