काठमाडौं – कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्। उनले बाढीबाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गर्दै खोज तथा उद्धारमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गरेकी छन्। भेटका क्रममा बोल्डिनले बाढीपछि बेपत्ता अमेरिकी नागरिकसहित अन्य पीडितको खोजी तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको प्रयासप्रति आभार व्यक्त गरेकी छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले प्रभावित परिवारलाई आवश्यक सूचना उपलब्ध गराउन अमेरिका नेपालसँग समन्वयमा रहेको जनाइएको छ।

अमेरिकी दूतावासका अनुसार बाढीपछिको प्रतिकार्यमा अमेरिका नेपालसँग सहकार्य गर्दै आएको छ। अमेरिकी नागरिकको सुरक्षा तथा उनीहरूका परिवारलाई आवश्यक जानकारी उपलब्ध गराउनु प्राथमिकतामा राखिएको जनाउँदै कन्सुलर सेवासमेत विस्तार गरिएको बताइएको छ। बाढी तथा अन्य विपद्बाट प्रभावित समुदायलाई राहत र पुनर्लाभमा सहयोग पुर्‍याउन अमेरिकाले ४० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् करिब ६१ करोड रुपैयाँभन्दा बढीको मानवीय सहायता परिचालन गरेको जनाएको छ। अमेरिकी सहयोगअन्तर्गत खाद्यान्न तथा आपत्कालीन राहत सामग्री, बन्दोबस्तीका सामग्री तथा उपकरण र विपद् प्रभावितको पुनर्लाभमा आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको छ।

त्यसैगरी, बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको पहिचानमा सहयोग पुर्‍याउन एफबीआईका फरेन्सिक विशेषज्ञहरू नेपाल प्रहरीसँग सहकार्य गर्दै परिचालित भएका छन्। उनीहरूले पीडितको पहिचान गर्न तथा परिवारलाई आफ्ना आफन्तको अवस्थाबारे जानकारी उपलब्ध गराउन नेपाली अधिकारीसँग समन्वय गरिरहेका छन्। नेपाल सरकारले बाढीबाट भएको क्षति, विस्थापन र मानवीय आवश्यकताको आकलन गरिरहेका बेला अमेरिकाले नेपालसँग निरन्तर समन्वय र सहकार्य गर्ने जनाएको छ। अमेरिकी पक्षले विपद्बाट प्रभावित नागरिकको राहत, खोज तथा उद्धार र पुनर्लाभका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय